'योग प्रवर्तक पतञ्जलिको जन्म भारतमा होइन, नेपालमै'

 

हरेक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएपछि योगको चर्चासँगै यसका प्रवर्तक पतञ्जलिको सम्झना गर्न थालिएको छ।

पतञ्जलिले योगमा मात्र योगदान गरेका होइनन्, उनले आयुर्वेद र व्याकरणको विकासमा समेत योगदान गरेका छन्।

पतञ्जलिको जन्मको सम्बन्धमा एकमत नभएपनि मेरो अध्ययन र अनुसन्धानले उनको जन्म नेपालकै अर्घाखाँची जिल्लामा भएको देखाएको छ।

विभिन्न शास्त्रहरू र स्वयम् पतञ्जलिले लेखेका ग्रन्थको अध्ययनपश्चात मैले मेरो दाबी सार्वजनिक गरेको हुँ।

पतञ्जलिको योगदान

पतञ्जलिले योग, आयुर्वेद र व्याकरणका योगदानको दार्शनिक अर्थ पनि छ।

मानव तन, मन र वचनले स्वस्थ र शुद्ध हुनुपर्छ। त्यसैले पतञ्जलिले शरीर स्वस्थ र शुद्ध राख्न आयुर्वेद, मन स्वस्थ र शुद्ध राख्न योग तथा वचनको शुद्धीकरणका लागि व्याकरणको अन्वेषण गरेका हुन्।

अहिले आएर उनलाई योगका प्रवर्तकका रूपमा मात्र चिनिन थालेको छ। खासमा त्यो शतप्रतिशत ठीक होइन।

पतञ्जलीको जन्मस्थल

पतञ्जलीको जन्मस्थान र संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्री पाणिनिको कर्मस्थान नेपाल हो।

त्यो क्षेत्र अर्घाखाँची र प्युठानको सङ्गमतिर पर्छ।

पाणिनिलाई इसापूर्व तीन हजार वर्ष र पतञ्जलिलाई दुई हजार वर्ष पूर्वका ठानिन्छ।

पाणिनिले आफू जन्मेको ठाउँलाई शलातपुर भनेका छन्। त्यो अहिलेको पाकिस्तानस्थित लाहोर हो।

उनी लाहोरबाट नेपाल आएर तपस्या गरेर अष्टाध्यायी व्याकरण लेखेका हुन्।

त्यसका शास्त्रीय प्रमाणहरू भेटिएका छन्।

 
 

प्रमाणहरू के के छन् त?

पतञ्जलिले आफू जन्मेको स्थानलाई गोनर्द भनेका छन्।

गोनर्दमा जन्मिएका हुनाले नै उनलाई गोनर्दीय भनिएको हो। उनको पितालाई चरक आत्रेय भनिन्थ्यो।

उनको आमाको नाम गोणिका थियो। गोणिका शब्द 'गो' शब्दकै अपभ्रंश गोणीबाट विकसित भएको हो।

पतञ्जलिले पाणिनिले रचना गरेको अष्टाध्यायी व्याकरणको भाष्य लेखे। यसलाई व्याकरण महाभाष्य भनिन्छ।

त्यस ग्रन्थमा उनले 'म गोनर्दमा जन्मेको हुँ' भनेका छन्। उक्त ग्रन्थमा गोनर्द शब्द चारपटक आएको छ।

तर गोनर्द कहाँ पर्छ भन्नेमा अध्येताहरूबीच एकमत छैन।

कसैले भारतको मध्यप्रदेशस्थित उज्जैनमा पर्छ भनेका छन्। अरूले भारतकै कश्मीर, काशी र उत्तर प्रदेशस्थित गोण्डालाई पनि उनको जन्मस्थलका रूपमा मानेका छन्।

ग्रन्थहरूका व्याख्याकारहरूले गोनर्द आर्यावर्त्तको प्राच्य देशमा पर्छ भन्ने व्याख्या गरेका छन्।

पाणिनिले आफ्नो अष्टाध्यायीमा 'एङ् प्राचां देशे' भनेर त्यसैको सङ्केत गरेका छन्।

'एङ् प्राचां देशे' सूत्रका व्याख्याकार वामन जयादित्यको काशीका व्याख्यामा स्पष्ट उल्लेख भएको छ।

अष्टाध्यायीका वृत्तिकार भट्टोजिदीक्षितले पनि त्यस सूत्रको उदाहरणद्वारा त्यसको समर्थन गरेका छन्।

अब त्यो प्राचां देशको गोनर्द कहाँ पर्छ भन्ने प्रश्न उठ्छ। त्यसका लागि विभिन् धर्मग्रन्थको सहारा लिनुपर्ने हुन्छ।

किनकी हाम्रो क्षेत्र भनेको युरोपजस्तो कम भूकम्प, बाढी र पहिरो जाने स्थान होइन।

त्यसले गर्दा यहाँ उत्खनन् गरेर शिलालेख वा अन्य त्यस्तै कुरा भेटिन्छ भन्ने छैन।

प्राकृतिक विपद्ले जुनसुकै बेला त्यस्ता कुरा नष्ट गरेको हुनसक्छ। त्यसैले हामीले केलाउने शास्त्रहरू नै हो।

शास्त्रहरू केलाउँदा गोनर्दलाई 'गावह: नर्दन्ति यस्मिन् पर्वते' अर्थात् गाईहरू डुक्रिने वा कराउने पर्वत भनिएको छ।


अर्घाखाँची नै कसरी ?

अहिलेको अर्घाखाँची क्षेत्रमा गाईको सङ्ख्या धेरै भएको कुरा विभिन्न शास्त्रहरूमा पुष्टी गरिएको छ।

अयोध्याका राजा दशरथकी औरस पुत्री तथा अङ्गदेशका राजाकी पोष्यापुत्री राजकुमारी शान्ताको विवाह हाल मधुवनधाम कपिलवस्तुका युवा ऋषि ऋष्यशृङ्गसँग भएको कथन छ।

तिनले दाइजोमा असल जातका एक लाख गाई पाएका थिए।

ती गाईका सन्ततिले नर्त्तनाचल परिक्षेत्र ढाके। त्यसको पहाडी भेगलाई गोपर्वत भन्न थालियो भने तराई भेगलाई गोशृ भनियो।

उक्त गोपर्वतलाई पाणिनीले तपस्या गरेको स्थान मानिन्छ। त्यसलाई अहिले पनि पणेना भनिन्छ।

यस आधारमा त्यस क्षेत्रमै गोनर्द पनि पर्छ भन्न सकिन्छ।

गोनर्द संस्कृत शब्द हो। यस प्रदेशमा पहाड र तराई दुवै भाग पर्छन्।

पहाडमा बस्ने नेपाली मगर र गुरूङभाषीहरूले जनबोलीमा गोनर्दलाई गल्दा भन्छन्।

तराईका अवधीभाषीहरूले जनबोलीमा गोण्डा भन्छन्।

पतञ्जलि गोनर्दको पर्वतमा जन्मिएका हुनाले अहिलेको अवस्थामा अर्घाखाँचीको गोल्दा मात्रै त्यस्तो पर्वत रहेको पुष्टी हुन्छ।

भारतको उत्तरप्रदेशमा रहेको गोण्डामा पर्वत छैनन्।

काशीमा गोनर्दबारे खासै केही पनि भेटिदैन र त्यो प्राच्य देशमा पनि पर्दैन।

कश्मीरमा स्थानको नाम गोनर्द रहेको छैन। त्यहाँ गोनर्द नामका राजाले शासन गरेको इतिहास छ।

कुनै पनि व्यक्तिलाई कहाँको भनेर जनाउन राजाको नामलाई त भनिएको भेटिदैन।

त्यसैले गर्दा कश्मीरको कुरामा पनि खासै विश्वासिला आधार छैनन्।

उज्जैनमा गोन्दरमहु भन्ने स्थान छ तर त्यो पनि प्राच्य देशमा पर्दैन।

संस्कृत व्याकरणका विद्वान् नागेशभट्टले महाभाष्यको व्याख्या गरेका छन्।

त्यस व्याख्यामाथि उनकै शिष्य वैद्यनाथ पायगुण्डेले छाया नामक प्रमाणित टिप्पणी लेखेका छन्।

त्यसमा पनि पतञ्जली गनर्द पर्वतमा जन्मिएका हुन् भनेर स्पष्ट उल्लेख गरिएको छ।

पाश्चात्य संस्कृत विद्वान् मोनियर विलियम्सले पनि आफ्नो कोशमा गोनर्दलाई एउटा पर्वतको नाम भनेका छन्।

यी सबै तथ्यहरूका आधारमा पतञ्जलि जन्मिएको गोनर्द भनेको हालको अर्खाखाँची र प्युठान जिल्लाको सङ्गम हो भन्ने देखिन्छ।

अर्घाखाँचीको सितगङ्गा नगरपालिकामा गोल्दा भन्ने स्थान पर्छ। त्यहाँ पलाँटे भन्ने ठाउँ पनि छ। त्यो पतञ्जलीबाट अपभ्रंश भएर नै बनेको हो।

त्यसैले हामीले पतञ्जलिको जन्मस्थान नेपालको अर्घाखाँची नै हो भन्ने प्रशस्त आधारहरू छन्।

अध्ययनको आवश्यकता

मैले यो दाबी मात्र गरेको होइन, शास्त्रीय प्रमाणहरू देखाइदिएको हो।

पतञ्जलिबारे थप अनुसन्धान हुनु जरूरी छ।

पतञ्जलि अहिलेको नेपालमा जन्मिएका भए पनि उनले पटनाका राजा पुष्यमित्र सुङ्गको राजगुरू भएर बसेको देखिन्छ।

त्यसक्रममा नै उनले त्यहाँको राजकीय पुस्तकालयमा बसेर अध्ययन तथा लेखन गरेको देखिन्छ।

(प्राध्यापक आत्रेयसँग विष्णु पोखरेलले गरेको कुराकानीमा आधारित। यो आलेख लेखकको निजी विचार हो।)

published date : 21 june  2019